

पुनः राष्ट्रपति बन्ने दौडमा ट्रम्प, हेलीकै राज्य साउथ क्यारोलाइनमा फराकिलो जित

काठमाडौं – पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्राइमरी इलेक्सनमा लगातार सफलता मिलेको छ।
रिपब्लिकन पार्टीको प्राइमरी इलेक्सनमा ट्रम्पले साउथ क्यारोलाइनमा प्रतिस्पर्धी निक्की हेलीलाई फराकिलो अन्तरले पराजित गरे। न्यूयोर्क टाइम्सका अनुसार यो राज्यमा ट्रम्पलाई ५९ दशमलब ७ प्रतिशत मत प्राप्त भएको छ भने निक्की हेलीलाई ३९ दशमलब ६ प्रतिशत मत खसेको छ।
यही राज्यमा गत ४ फेब्रुअरीमा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनमा राष्ट्रपति जो बाइडेनले ९६ दशमलब ३ प्रतिशत मत पाएका थिए। बाइडेनसँग प्राइमरी इलेक्सन लडेका डीन फिलिप्सलाई जम्मा २ प्रतिशत मत आएको थियो।
यसअघि आयोवा र न्यू ह्याम्पशायर राज्यमा भएको प्राइमरी इलेक्सनमा पनि ट्रम्पले निक्की हेलीलाई पराजित गर्दै जित हासिल गरेका थिए। त्यतिबेला निक्की हेलीले साउथ क्यारोलाइनामा आफ्नो जित पक्का रहेको दाबी गरेकी थिइन्। निक्की हेली साउथ क्यारोलाइनाकी पूर्व गभर्नरसमेत हुन्।
आफू पराजित भएपछि निक्की हेलीले ट्रम्पलाई बधाइ दिँदै आफ्नो अभियान जारी राख्ने बताइन्। उनले ट्रम्पले प्राइमरी इलेक्सन जिते बाइडेन नै पुनः अमेरिकाको राष्ट्रपति बन्ने भन्दै बाइडेनलाई रोक्न आफू उम्मेदवार बन्नुपर्ने दाबी गर्दै आएका छन्।

