

विमानस्थल परिसरकाे फोहोरमा आगो लगाउँदा उडान–अवतरण प्रभावित

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल नजिकै रहेको डम्पिङ साइटमा रहेको फोहोरमा आगो लगाउँदा विमानस्थल प्रभावित बनेको छ ।
मंगलबार साँझ ७ बजेतिर फोहोर बाल्न लगाइएको आगोबाट निस्किएको धुँवाको मुस्लोका कारण विमानस्थलमा उडान–अवतरण प्रभावित बनेको जनाइएको छ ।,
आगो बढ्दै गएपछि नियन्त्रणका लागि विमानस्थलभित्रका चार वटा फायर भेहिकल परिचालन गरि आगो नियन्त्रणमा लिइएको थियो ।
विमानस्थल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार, आगो नियन्त्रणमा लिन विमानस्थलको ‘क्याटागोरी ९’मा राखिएका दमकलहरु परिचालन गर्दा विमानको उडान नै रोकिएको थियो । केही विमानहरु धुँवाको मुस्लोका कारण पनि रोकिए ।
अहिले भने विमानस्थलमा सामान्य रुपमा जहाज उडान अवतरण भइरहेको छ । यद्यपि, अहिले पनि धुँवा भने आइरहेकाे छ ।

