

सरकारी छाप दुरुपयोगमा नेविसंघका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

पोखरा – सरकारी छाप दुरुपयोग गरेको अभियोगमा नेवि संघका केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा १९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखरा चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।
तीमध्ये बास्तोला हाल नेविसंघका केन्द्रीय सदस्य एवं पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्वसभापति समेत हुन् ।
वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले उनीहरूले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताए।
साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्युटरसमेत बरामद गरिएको छ। उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा १० दिन म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी विकले बताए।

