

कोरियन भाषा परिक्षा यही फागुन ७ देखि

काठमाडौं – कोरियामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा काम गर्न इपिएस भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको परीक्षा यही फागुन ७ गतेदेखि सुरु हुने भएको छ ।
इपिएस कोरिया शाखाले बुधबार एक सूचना जारी गर्दै कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको लागि फागुन ७ अर्थात् फेब्रुअरी १९ बाट परीक्षा सञ्चालन हुने उल्लेख गरेको छ ।
शाखाले निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजातसहित उपस्थित हुन नसकेमा परीक्षार्थीलाई कुनै पनि अवस्थामा परीक्षामा समावेश नगराइने प्रस्ट पारेको छ । परीक्षा भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा हुने जानकारी दिइएको छ ।
परीक्षालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन मोबाइल फोन, इलेक्ट्रोनिक डिक्स्नरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको सूचनामा उल्लेख छ ।

