

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।
खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।
प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।
दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको अभियानका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । दोस्रो चरणको खोप अभियान पहिलो चरणको भन्दा लामो हुने अधिकारीहरूले बताएका छन्।

