
नेपालमा आपराधिक घटना बढ्दो : ६ महिनामै ५,३६४ जना पक्राउ
काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरु बढ्दै गएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार ३६४ जनालाई पक्राउ गरी एक अर्ब १९ करोड रुपैयाँ जरिवाना असुल गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको एक अर्ब १९ करोड ८४ लाख ४९ हजार ३६१ जरिवाना असुल गरिएको छ ।
उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब ३१३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोसी प्रदेशबाट आठ सय २५ जना, मधेस प्रदेशबाट एक हजार ७ सय ९७ जना, वाग्मती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।



कागजपत्र |
