
युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी, तीनजना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका–३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका–२ नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह रहेका छन् ।
उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५५ हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रुपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड ९ थान बरामद गरेको छ ।
उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।



कागजपत्र |
