बाँदरले दुःख दिएको भन्दै सिन्धुपाल्चोकमा पनि रुख काट्ने निर्णय


चौतारा -सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । वडा अध्यक्ष शिव कुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् ।

‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावलरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्क्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

उनले यो काममा सहयोग गरिदिन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीहरुलाई अनुरोध समेत गरेका छन् ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका-११ ले पनि बाँदर आत‌‌ङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतवारीका रुख कटान गर्ने अभियान चलाएको थियो ।

केही दिनअघि मात्र पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले दुःख दिएको भन्दै रुख काट्ने निर्णय गरेको थियो । रुख काट्ने निर्णयको चर्को आालोचना भएपछि उक्त निर्णयबाट पछि हटेको थियो । तर रुख काटिसकेपछि मात्र वडाले सुचना सावएजनिक गरेको विषय बाहिरिएको थियो ।

 

प्रतिक्रिया