

सुदूर पहाडका हिमाली भू–भागमा हिमपात

कैलाली- सुदूर पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ। खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए ।
उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन् । अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ लगाएतका हिमाली भू–भागमा हिमपात सुरु भएको हो ।
बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू–भागहरूमा वर्षासँग हिमपात हुँदैछ। जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो। वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध हुन थालेका छन् । सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ ।
बडीमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ।

