

कर्णालीका पूर्व मुख्यमन्त्री शाहीलाई गाडी दिने तयारी

सुर्खेत- मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ मा पूर्व मुख्यमन्त्रीलाई दिइने सुविधाबारे कुनै कुरा उल्लेख छैन । यस्तै ‘कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५’ मा पनि त्यस्तो केही छैन ।
तर, कानुनको धज्जी उडाएर कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पूर्व मुख्यमन्त्रीका हैसियतमा गाडी दिने तयारी भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार पूर्वमुख्यमन्त्री शाहीलाई गाडी दिने तयारी गरिएको हो ।
पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय नै गरिसकेको बताइएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयमा पूर्वमुख्यमन्त्री शाहीलाई यातायात सुविधाबापत एउटा गाडी, एउटा चालक, मर्मत खर्च र मासिक दुई सय लिटर इन्धन दिने उल्लेख छ ।
तर, कानुन मन्त्रालयका प्रवक्ता एवम् कानुन उपसचिव निधिराज न्यौपाने भने पूर्व पदाधिकारीलाई गाडी दिने विषयमा प्रदेशमा कानुन नबनेको बताउँछन् ।

