

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं- पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ ।
अदालतले मंगलबार पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । यो मुद्दामा सफाई पाएको भए इमरानले चुनावमा भाग लिन पाउने सम्भावना थियो ।
पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अश्विकार गरेका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले उच्च अदालतमा यो फैसलालाई चुनौती दिने बताएको छ ।
सन् २०२२ मा खान विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । यसअघि उनलाई भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय सुनाइएको थियो । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक उद्देश्यबाट प्रेरित भएको तथा यसमा अमेरिकाको हात रहेको बताउँदै आएका छन्।
साइफर मुद्दामा इमरानमाथि गोप्य कुटनीतिक पत्र आफूसँग राखेको आरोप छ । उनीमाथिको चार्जशीटमा उनले यस्ता दस्तावेज नफर्काएको उल्लेख गरिएको छ ।

