पोखरा-१९ को ‘मेरो रुख म काट्छु’ अभियान रद्द


पोखरा- बाँदर नियन्त्रण गर्न वडाले सञ्चालन गरेको ‘मेरो रुख म काट्छु’ अभियानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आपत्ति जनाएपछि रद्द भएको छ ।

सोमबार पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए । “‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका थिए ।

उक्त सूचनाको चौतर्फी विरोध भएपछि मंगलबार महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो ।

वडाध्यक्ष पाण्डेले मंगलबार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया