छोरीको बलात्कारपछि छोराको हत्या गर्ने बुवा कैलालीबाट समातिए


सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बुवा पक्राउ परेका छन् । १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बुवा ४५ वर्षीय नयाराम पक्राउ परेका हुन् ।

उनलाई कैलालीकाे टिकापुर नगरपालिका–१ लम्किपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले उनलाई समातेर थुनामा राखेको छ । उनी लम्कीपुरमा साडुदाईको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए ।

मङ्गलवार उनले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनैले असोजमा छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । बहिनीले मृतक दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए ।

आफूविरुद्ध जाहेरी दिएको भन्दै नयारामले छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

 

प्रतिक्रिया