अढाई वर्षपछि ‘भाग्योदय’ गराउने निवास फर्किए देउवा


काठमाडौं– २०७८ असार २८ गते सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

त्यसकै भोलिपल्ट देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भए । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसपछि उनी आफ्नो निवास बुढानिलकण्ठ छाडेर बालुवाटार गएका थिए ।

तर, त्यसको डेढ वर्षपछि २०७९ पुस १० मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भए । उनी बुढानीलकण्ठस्थित निवासमा गएनन् । पुस १३ गते उनी बालुवाटार छाडेर भाडाको घरमा सरे । त्यसयता उनी धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको घर भाडामा लिएर बस्दै आएका थिए ।

बुढानीलकण्ठको निवास देउवाको भाग्योदय गराउने ठाउँ भएकाले त्यहाँको वास्तुमा फेलबदल गरेर उनी त्यहाँ फर्किन चाहान्थे । ज्योतिषी परामर्शमा विश्वास गर्ने भएकाले देउवाले आफ्नो निवास मर्मत गर्न लगाएर भाडाको घरमा बसेको बताइन्छ ।

२०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका देउवाले घरको वास्तु मिलाउन वास्तुविज्ञ सुरेशचन्द्र रिजालसँग सल्लाह गरेर घरको संरचना परिवर्तन गराइरहेका थिए । रिजालकै सल्लाहमा बुढानीलकण्ठस्थित घरको मुख्यद्वार, स्विमिङ पुलको उचाइ तथा संरचना र घरको भित्रिबाह्य संरचनामा थोरै फेरबदल गर्न लगाइएको थियो ।

स्रोतका अनुसार शेरबहादुर देउवाले घर मर्मतको काम पुस अगावै सक्न भनेका थिए । तर, केही काम बाँकी रहेकाले पुस मसान्तमा मर्मतको काम सकिएको हो । सोही घरमा देउवापुत्र जयविर सिंह देउवाको विवाह समारोह हुने भएकाले आज देउवा परिवार आफ्नै निवासमा सरेको छ । वास्तुविज्ञले उनको परिवारलाई माघ ३ वा ५ गते घर सर्न उत्तम साइत परेको जानकारी दिएका थिए । ज्योतिषीले दिएको तिथि अनुसार नै देउवा परिवार आज(माघ ३) ११ बजे आफ्नो निवास प्रवेश गरेको हो ।

देउवाका लागि ‘लक्की चार्म’ मानिएको बुढानीलकण्ठ निवासमा उनी करिब अढाई वर्षपछि फर्किएका छन् । हाल सत्ता समिकरण गरिरहेको कांग्रेस सभापति देउवा आफ्नो निवास फर्किएपछि थप शक्तिशाली हुने उनका ज्योतिषले बताएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार अब कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पाउने छ । पार्टीभित्र केही किचलो नभए तथा गठबन्धनमा कुनै दरार नआए छैठौंपटक प्रधानमन्त्री बन्न देउवालाई कसैले रोक्न सक्नेछैन ।

उनी २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २०६१ को २१ जेठदेखि १९ माघसम्म, २०७४ को २४ जेठदेखि ३ फागुनसम्म र २०७८ असार २९ देखि २०७९ पुस १० सम्म पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।

घरमै छोराको बिहे
आफ्नो निवासमा फर्किएका देउवा परिवारका एक्ला सुपुत्र जयविर सिंह देउवाको यहि माघ २१ मा बिहे हुँदैछ । त्यसको तयारी जोडतोडका साथ चलिरहेको स्रोतले बताएको छ ।

उमेरले २८ कटिसकेका जयविरले गत जेठ १ गते शिभाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए । पूर्वराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी तथा सञ्जिव भक्त श्रेष्ठकी कान्छी छोरी सिभाना सौन्दर्य सामग्रीको व्यापारमा छिन् । उनी कभर गायकसमेत हुन् ।

उनीहरू दुवैको चिनजान पहिले नै भएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया