

अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे

उदयपुर- अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकै गोठका १८ माउबाख्रा मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १० बोक्सेस्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।
अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए। मंगलबार बिहान एकैपटक ९ वटा बाख्रा मरेको खबर पाएपछि वडा अध्यक्षले पशु प्राविधिकलाई खबर गरेका थिए ।
मंगलबार उपचार हुँदाहुँदै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाइ छ । सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए ।

