

कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्ने तीन कर्मचारी निलम्बित

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् ।
मेयर बालेनले आफ्नै सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेका हुन् ।
कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ । उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो।

