

भारतसम्मै आइपुग्यो कोरोनाको JN.1 भेरियन्ट, सचेत रहन स्वास्थ्यविज्ञको सल्लाह

काठमाडौं – संसारभरि लाखौं मानिसको ज्यान लिइसकेको र करोडौं मानिसहरुलाई संक्रमित बनाइसकेको कोरोना भाईरसको नयाँ संक्रमण नेपालको छिमेकी मुलुक भारतसम्म बढ्दो क्रममा देखिएको छ ।
लक्जम्बर्गबाट सुरु भएको नयाँ सब भेरियन्टको कोरोनालाई JN.1 नाम दिइएको छ ।
आजको दिनसम्म नेपालमा पत्ता नलागिसकेको अवस्थामा उक्त भाईरसको संक्रमण नेपालमा पनि छिटै देखिने सम्भावनालाई नकार्न भने सकिँदैन ।
भारतलगायतका विश्वका ४० देशमा फैलिइसकेको JN.1 नामक भाईरसका सबैभन्दा पहिलोपल्ट लक्जम्बर्गमा देखिएको थियो । त्यसपछि तीब्र रुपमा बढ्दै आएको उक्त सव–भेरियन्ट अहिलेसम्म २१ भारतीयमा पुष्टी भइसकेको छ । यो भेरियन्ट अन्य कोरोना भाइरसको तुलनामा तीब्र गतिमा फैलिइरहेको छ ।
नेपाल भारत खुला सीमाका कारण भारतमा देखिएको उक्त सव–भेरियन्ट नेपालमा पछि छिट्टै देखा पर्नसक्ने भएकाले समयमै सचेत रहनुपर्ने स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।

