अध्यक्ष लिङ्देनविरुद्ध हस्ताक्षर अभियान चलाउने तयारी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठकमा केही केन्द्रीय सदस्यहरूले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् ।

बैठकमा अध्यक्ष लिङ्देनले बोल्न नदिने उद्देश्यले योजनाबद्ध रुपमा प्रदेश अध्यक्षहरूको नेतृत्वको छलफलका लागि समूह गठन गरेको भन्दै केही केन्द्रीय सदस्यहरूले अध्यक्षविरुद्ध हस्ताक्षर अभियान चलाउने तयारी गरेका हुन् ।

काठमाडौँमा आइतबारदेखि सुरु भएको बैठक आफ्नो समसामयिक प्रतिवेदनसहित विभिन्न प्रतिवेदन पेश भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश अध्यक्षकै नेतृत्वमा समूहगत छलफल हुने बताएपछि विरोध भएको एक केन्द्रीय सदस्यले बताए ।

ती केन्द्रीय सदस्यले आफूहरुको त्यसमा विरोध रहेको र बैठकमा केन्द्रीय सदस्यले बोल्न पाउनुपर्छ भनेर हस्ताक्षर अभियान चलाउन थालिएको बताए ।

उनका अनुसार अध्यक्षले विगतको परम्परा विपरीत सिधै केन्द्रीय सदस्यलाई बोल्न रोक लगाएका छन् । सबै केन्द्रीय सदस्यले सात प्रदेशका अध्यक्षको नेतृत्वमा समूहगत छलफल गर्ने र त्यसको निष्कर्ष मात्रै सुनाउने अध्यक्षले भनेका छन् ।

 

 

 

प्रतिक्रिया