
बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन्ः प्रधानमन्त्री
कपिलवस्तु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।
मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना नहुने बताए ।
‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाती रहेसम्म बुद्ध शिक्षाको औचित्य, आवश्यकता र महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ’, प्रधानमन्त्रीले भने, ‘आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न पुगेको छ ।’
कार्यक्रममा उनले रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत जनाइएका प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व अरू बढेर गएको पनि बताए । ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो’, प्रधानमन्त्रीले भने,‘देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न सफल भएका छौं ।’
प्रधानमन्त्रीले कोप–२८ सम्म पुग्दा संसार देशहरुले नेपालका हिमाल र पहाडको संरक्षण गर्न अघि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको र उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।



कागजपत्र |
