जहाज पर्खिरहेका विमानस्थलहरु


काठमाडौं- दसैंको बेला बैतडीको उदयदेव मन्दिरमा लाग्ने मेला भर्ने भक्तजनको घुइँचो थियो । मेलामा आएका हजारौं दर्शनार्थीमध्ये केही सँगै रहेको पाटन विमास्थलमा भरिएका थिए ।

उनीहरुमध्ये कोही फोटो खिच्दै थिए, भने कोही टिकटक बनाउन व्यस्त थिए । जहाज आउन छाडेको डेढ वर्ष भइसकेकाले उनीहरु बेफिक्र विमानस्थलको ‘रनवे’(धावनमार्ग)मै गएर डान्स गरिरहेका थिए । एकचोटी त स्थानीयले त्यहाँको धावन मार्गमै बिस्कुन सुकाएको खबरहरु आएका थिए ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै जहाज आएको छैन ।

यहि भदौंमा एउटा विशेष कामले डोटीको दिपायल पुगेको थिए । काम सकिएपछि घुम्नका लागि विमानस्थल नजिक पुग्दा त्यहाँ पनि पाटनको जस्तै दृश्य देखियो । केही किशोरीहरु धावनमार्गमा गएर नाच्दै भिडियो खिचिरहेका थिए । पछि स्थानीयलाई सोध्दा जानकारी पाइयो की त्यहाँबाट पनि उडान नभएको एक वर्ष पुगिसकेछ ।

कैलालीको धनगढीदेखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो। त्यस पश्चात् अहिलेसम्म उडान पूर्णरूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ ।
                                                              ०००
उडान बन्द भएपछि यी दुवै विमानस्थलको धावनमार्गमा घाँस उम्रिन थालेका छन् । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् ।

यी दुई विमानस्थल त उदाहरण मात्रै हुन् । हाल नेपालका ५२ विमानस्थलमध्ये १८ पूर्णरुपमा बन्द छन् भने सञ्चालनमा रहेको भनिएका पाटन र दिपायलजस्तै १३ विमानस्थलमा नियमित उडान भइरहको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का अनुसार नेपालमा रहेका १८ विमानस्थल बन्द छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थल गरी तीन विमानस्थल बन्द अवस्थामा छन् ।
यस्तै कर्णालीमा निर्माण गरिएका डोल्पाको मसिनेचौर एयरपोर्ट र रुकुम पश्चिमको चौरजहारी एयरपोर्ट गरी दुई एयरपोर्ट पनि सञ्चालनमा छ्रनन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा रहेको रोल्पा एयरपोर्ट पनि सञ्चालनमा छैन । गण्डकी प्रदेशमा बाग्लुङको ढोरपाटन र बलेवा एयरपोर्ट, मनाङ एयरपोर्ट र गोर्खा पालुङटार गरी चार एयरपोर्ट अहिले सञ्चालनमा छैनन् ।

बागमती प्रदेशमा रहेका रसुवाको लाङटाङ एयरपोर्ट, चितवन मेघौली एयरपोर्ट र दोलखाको जिरी एयरपोर्ट गरी तीन एयरपोर्ट सञ्चालनमा छैनन् । कोशी प्रदेशमा सोलुखुम्बुको स्याङबोचे एयरपोर्ट, सोलुखुम्बुकै कागेलडाँडा एयरपोर्ट, खोटाङको लामीडाडा, ओखलढुंगाको रुम्जाटार र ओखलढुंगाकै खिजी चण्डेश्वरी एयरपोर्ट गरी पाँच विमानस्थल सञ्चालनमा छैनन् ।

यस्तै अहिले देशभर चार वटा विमानस्थल निमार्णाधिन अवस्थामा छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, अर्घाखाँची, अछामको कमलबजार र कालिकोट विमानस्थल निर्माण भइरहेको क्यानले जनाएको छ ।

क्यानका अनुसार नेपालमा हाल ३४ विमानस्थल सञ्चालनमा रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मनमाया राई खानीडाँडा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, फाल्गुनन्द विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, फाप्लु विमानस्थल, विराटनगर विमानस्थल, तेन्जिङ हिलारी (लुक्ला) विमानस्थल, नेपालगन्ज विमानस्थल, रामेछाप विमानस्थल, चन्द्रगढी विमानस्थल, जोमसोम विमानस्थल, राजविराज विमानस्थल, जुम्ला विमानस्थल, जनकपुर विमानस्थल, रारा एयरपोर्ट, सिमरा विमानस्थल, रुकुम सल्ले विमानस्थल, भरतपुर विमानस्थल, सिमिकोट विमानस्थल, धनगढी विमानस्थल, साँफेबगर विमानस्थल, सुर्खेत विमानस्थल, डोल्पा विमानस्थल, दाङ विमानस्थल, बझाङ विमानस्थल, ताप्लेजुङ विमानस्थल, बैतडी विमानस्थल, तुम्लिङटार एयरपोर्ट, बाजुरा विमानस्थल, भोजपुर विमानस्थल, डोटी विमानस्थल, थामखर्क विमानस्थल र गुल्मी (रेसुङ्गा) विमानस्थल सञ्चालनमा रहेको क्यानले जानकारी दिएको छ ।

तर, यीमध्ये बैतडीको पाटन, बझाङ, बाजुरा, साँफेबगर, डोटीको दिपायल, सल्ले, गुल्मी, धामखर्क, खानीडाँडा, लामीडाँडा, रुम्झाटार र फाल्गुनन्द गरी १२ विमानस्थलमा नियमित उडान हुने गरेको छैन । भने, कतिपय विमानस्थलमा लामोसमयदेखि उडान ठप्प नै छ ।

विशेगरी जहाजको कमी, पर्याप्त यात्रु नपाइनु तथा प्राविधिक समस्या एवं खराब मौसमलगायत कारणले यी दुर्गम भेगमा नियमित उडान नभएको नेपाल वायुसेवा निगमले बताएको छ ।

यात्रु अभावकै कारण उडान भर्न नसकिने अवस्था आएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताएका छन् । त्यसरी नियमित उडान नहुँदा करोडौंका संरचना खेर गइरहेको उनको भनाई छ ।

प्रतिक्रिया