

सुशासनका लागि ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : अध्यक्ष दाहाल

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् ।
दाहालले माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताएका हुन् ।
उक्त अवसरमा अध्यक्ष दाहालले भने, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन ।’
‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन’, अध्यक्ष दाहालले भने, ‘ पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’
मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तक्र्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको पनि उनले जनाए ।

