

निगमलाई क्यानका कर्मचारीको चेतावनी– ग्राउन्ड ह्यान्डलिङबारे बखेडा नगर्नुहोस्

काठमाडौं- त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा आफैले पाउनुपर्ने भन्दै नेपाल वायु सेवा निगमका कर्मचारी आन्दोलित भएका बेला नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । क्यान सम्बद्ध कर्मचारी ट्रेड युनियनहरू समेत आन्दोलनमा उत्रिएका हुन्।
प्राधिकरणका चारवटा ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी सङ्घ र मधेश तराई कर्मचारी युनियनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल वायु सेवा निगमसँग ग्राउन्ड ह्याण्डलिङको सुविधा खोसेर आफै सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग माग गरेका छन् ।
‘विगत केही दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्ने कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित विज्ञप्तिप्रति नेपाल नागरिक उड्डयन प्राधिकरणमा क्रियाशील हामी सम्पूर्ण कर्मचारी ट्रेड युनियनहरूको गम्भीर ध्यानाकर्षण भएको छ’ कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ वास्तविकतालाई नजर अन्दाज गरी नेपाल वायुसेवा निगम व्यवस्थापन तथा निगममा क्रियाशील विभिन्न कर्मचारी ट्रेड युनियनहरूद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्ने कमर्सियल गउण्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बकौती र जन्मसिद्ध अधिकार हो भन्ने गरी गरिएका कथित प्रचारबाजी तथा मिडियावाजी प्रति हामी आश्चर्यचकित सहित सो समूहको कानुनी अल्पज्ञानता प्रति हामी खेद प्रकट गर्दछौ’ कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।’
कर्मचारीहरुले विगतमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कमर्सियल गाउण्ड ह्यान्डलिङ सेवाबारे पटकपटक बखेडा खडा गरेर भावनात्मक वातावरण सिर्जना गराउने र राजनीतिक आर्शिवादमा उडाउने काम गरेको विज्ञप्तिमा भनिएको छ ।

