नेपालको यस्तो पर्यटकीय स्थल जहाँ पिउने पानी लग्न पाइदैन


काठमाडौं– सुन्दा अचम्म लाग्नसक्छ नेपालमै एउटा यस्तो पर्यटकीय स्थल छ, जहाँ पर्यटकले पिउने पानी बोकेर लग्न पाउँदैनन् । यो समस्याको सामना म्याग्दीस्थित घोडेपानीको पुन हिल जाने पर्यटकले भोग्नुपर्छ ।

उक्त नियम घोडेपानीका स्थानीयहरूले पुनहिल सञ्चालन गर्दा बनाएका थिए । सोही नियमलाई अहिले अन्नपूर्ण गाउँपालिकाले पनि कायम राखेको छ ।

पुनहिल जाँदा थर्मसमा आफै तातोपानी बोकेर लैजान नपाएको पर्यटकहरूले गुनासो गरेका छन् । जसले गर्दा त्यहाँ पुग्ने पर्यटकहरुले टिहाउसबाट महँगोमा पानी किनुपर्ने बाध्यता रहेको छ । महँगो पनि अत्यधिक, एक गलास तातोपानीको मूल्य १३० रुपैयाँ ।

त्यसैले घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमण गर्ने पर्यटकले सोही शुल्कमा पानी किनेर पिउनुपर्छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमै पानीको थर्मस, आगो बाल्ने ग्याँसलगायतका सामग्रीहरू लैजान नपाइने सूचना टाँसिएको छ । कसैले पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिवाना तोकिएको छ ।

पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफीसफ तथा रेस्टुरेन्ट सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपियाँमा आय ठेक्कामा लगाएको छ । पुन हिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले पचास र विदेशी पर्यटकले एक सय पचास रुपियाँ शुल्क गाउँपालिकाले कायम गरिदिए पनि पानी, चिया, कफीको शुल्क निर्धारण गरेको छैन ।

पुनहिल र टिहाउस सञ्चालनका लागि ठेक्कामा लिएका विरेन पुनले पर्यटकले आफैँले पानीलगायतका सामग्री लिएर आउँदा आफूहरुको व्यापार नहुने बताए । व्यापार नै नभएपछि पालिकालाई रकम बुझाउन नसक्ने उनको दाबी छ । उनले ठेक्काको रकम घटाउने, शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम गाउँपालिकाले नै बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया