

नेपाल एयरलाइन्सले भन्यो– गुणस्तरीय सेवा प्रदान गर्न सक्षम छौं, ‘ग्राउण्ड ह्याण्डलिङ’ हामीले पाउनुपर्छ

काठमाडौं– नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरता आफूले नै पाउनुपर्ने दाबी गरेको छ । पछिल्ला समय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाका विषयलाई लिएर सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको निगमले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ्ग गर्न अनुमति पाएको उल्लेख गर्दै नियमले जनशक्ति लगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । ‘यसबाट पनि निगमले हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
साथै इयूको स्कुप अफ अडिटसँग ग्राउण्ड ह्याण्डलिङ खोसिनुको कुनै सम्बन्ध नरहेको जनाउँदै नियमले आफूले दिइरहेको सेवाप्रति आक्रमण हुनु अप्रासंगिक एवम् नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानि नोक्सानी पुगाउने कार्य भएको जिकिर गरेको छ ।
‘मङ्सिर १७ को निगम कार्यकारी समितिको वैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मंसिरको बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ्ग गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रिअवि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ’ विज्ञप्तिमा अडाडि भनिएको छ ।
साथै निगमले नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरताका लागि उपकरणहरुमा गरिएको अर्बौं रुपैयाँ लगानीको सुनिश्चितता, व्यावसायिक दक्षता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षाको सुनिश्चितताका लागि समेत निगमको पक्षमा यथार्थ सूचना सम्प्रेषण गरी ऐक्यबद्धता जनाइदिन सबैमा अनुरोधसमेत गरेको छ ।
गत बिहीबार युरोपियन युनियन(ईयू) ले नेपाली वायु सेवालाई आफ्ना सदस्य मुलुकमा लगाएको प्रतिबन्धको निरन्तरता दिने निर्णय गरेको थियो । त्यसको दोस्रो दिनमै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको एकाधिकार रहेको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्ने निर्णय गर्यो ।
अब प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत ग्राउन्ड ह्यान्डलिङ गराउने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम २ बमोजिम सो निर्णय भएको प्राधिकरणले जनाएको थियो ।
यो पनिः
नेपाल एयरलाइन्सबाट किन खोसियो ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा ?

