पुरातत्व विभागले कार्य शैली नसुधारे कारबाहीकाे दायरामा ल्याउने : मेयर शाक्य


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद बढेको भन्दै प्रति आक्रोशत व्यक्त गरेका छन् । आज (आइतबार) सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले कमलपोखरी निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको बताए । अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको पनि मेयर शाक्यले आरोप लगााए ।

उनले भने, ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोड्न सकिन्न । जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानुनको दायराभित्र हामी ल्याउँछौं ।’

मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिए । महानगरभित्र रहेका कतिपय सम्पदा पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए । हनुमानढोकाभित्र रहेका सतलमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी उनले दिए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रुपमा कायम गर्न चाहन्छौं । हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं । हनुमानढोकाभित्र जुनजुन सतलहरु थियो, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ । बटुवामैत्री हुनुपर्छ भन्ने काठमाडौं महानगरपालिकाको धारणा हो । पत्राचार गरिसकेका छौं । पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरु सबैलाई सिकाएर हिँड्ने पुरातत्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा कमाइरहेको छ । त्यसको अब हामी काठमाडौं महानगरबासी सहने छैनौं । हटाउँछौं । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौं ।’

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताएका छन् । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले आरोप लगाए । उनले भने, ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु । आफूले गर्दा जे पनि ठिक अरुले गर्दा बेठिक भन्न पाइन्न । हाम्रो लागि बोल्ने को ? उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । प्राधिकरण जोडिएका सम्पदाको समस्या समाधानका लागि प्राधिकरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया