भीआईपी जुवाडेलाई छुटाउन राजनीतिक दबाब !

स्वयम्भूबाट पक्राउ परेका भीआईपी जुवाडेलाई हाजिरजमानीमा छुटाउन वृत्तकी डिएसपी, परिसर एसएसपीका साथै उपत्यका प्रमुख एआईजीसम्मलाई दबाब दिँदै नेताहरु


काठमाडौं – तिहारको पूर्वसन्ध्यामा पक्राउ परेका जुवाडेलाई छुटाउन राजनीतिक दलका नेताहरुले प्रहरीलाई दबाब दिएका छन् । राजधानीको स्वयम्भूबाट आइतबार राति पक्राउ परेका २२ भीआईपी जुवाडेलाई छुटाउन प्रहरीलाई दबाब दिएको जनाइएको छ ।

नागार्जुन नगरपालिका–३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेका बेला राजनीतिक दलका नेताका साथै प्रहरीका उच्च पदस्थका नातेदारसहित पक्राउ परेका २२ जनालाई छुटाउन प्रहरीलाई दबाब दिइएको जनाइएको छ । राजनीतिक दलका नेताहरु नै पक्राउ परेकोले राजनीतिक दलका उच्च नेताहरुले नै पक्राउ परेकालाई हाजिर जमानीमा रिहा गराउनका लागि स्वयम्भू वृत्त प्रमुखदेखि उपत्यका प्रहरी कार्यालयसम्म दबाब दिइएको स्रोतले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान गरी अदालत लैजाने तयारी गरिरहेका बेला वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्द, उपत्यका परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीका साथै उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई पनि दबाब दिएर छुटाउन सत्तारुढ दलका नेताहरु नै लागेको जनाइएको छ ।

प्रहरीले अधिकारीको घरमा कौडा खेलिरहेको विशेष सूचना पाएपछि आइतबार मध्यरातमा नागार्जुन–३ स्थित अधिकारीको घरबाट सोही नगरपालिका वडा नं. ८ का श्यामबाबु तामाङसहित २२ जना पक्राउ गरेको थियो ।  ती २२ जनामध्ये केही राजनीतिक दलका नेताका साथै उच्च पदस्थहरु रहेको जनाइएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया