डेढ वर्षको अवधिमा भिजिट भिसामार्फत विदेश जान खोज्ने साढे ६ हजार बढीलाई फर्काइयो


काठमाडौँ – भिजिट भिसामार्फत विदेश जान खोज्ने ६ हजारभन्दा बढीलाई प्रहरीले फर्काएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ वर्षको अवधिमा ६ हजार ६३७ जनालाई फर्काएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७९ को वैशाख १ गतेदेखि हालसम्म असोजसम्म भिजिट भिसामार्फत विदेश जान लागेकालाई फर्काएको हो । जसमा ३४ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रहेका छन् ।

कागजात हेर्दा भिजिट भिसामार्फत देखिए पनि उनीहरू वैदेशिक रोजगारीमा जाने मनसाय देखिएकाले फर्काउने गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए ।

हाल ब्युरोले एयरपोर्टबाट छोडेको छ । अहिले विमानस्थल प्रहरी आफैँले हेर्ने गरेको छ ।

प्रहरीले विगत पाँच वर्षको अवधिमा ८६९ जनाविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको हो ।

त्यस्तै सोही अवधिमा १ हजार २८६ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । त्यसरी भिजिट भिसामार्फत खाडी मुलुकहरू दुबई, ओमान, कतार, कुवेत, बहराइन लगायतका देशमा बढी जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै अमेरिकी मुलुकहरू ब्राजिल, घाना, टर्की, माल्दोभा लगायतमा समेत जाने गरेको देखिएको छ । युरोपको हकमा अजरबैजान, सर्बिया, पोर्चुगल, टर्की, साईप्रस, रुस, बेलारूस, उज्बेकिस्तान लगायतका मुलुकमा बढी जाने गरेको देखिएको छ ।

प्रतिक्रिया