

न्याय पाएपछि सर्वोच्च ढोग्दै भारती…

काठमाडौं — सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पा भावुक बनेकी छन् । सर्वोच्चले भारतीका श्रीमान् चेतन मानन्धरको हत्यारा योगराज ढकाल (रिगल)लाई आममाफी दिर्ने राष्ट्रपतिको निर्णय बदर गर्ने आदेश दिएपछि भावुक हुँदै भारतीले अदालतको भुइँ ढोगेकी छिन् ।
नेपालगञ्ज निवासी मानन्धरका हत्यारा रिगललाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

