
लुम्बिनीमा सर्तसहित जग्गा फुकुवा
काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणको लागि रोक्का राखेको जग्गा सर्तसहित फुकुवा गरेको छ। कार्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सकारको तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा फुकुवा भएको जानकारी गराइएको छ। २०७७ साल असोज १६ गते तत्कालीन सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो। लामो समय सम्म जग्गा रोक्का हुँदा जनजीवन प्रभावित भएको थियो।
प्रदेश सरकारले जग्गा फुकुवाको लागि सर्त निर्धारण गर्न समिति गठन गरेको थियो। समितिको निर्णय सिफारिस अनुसार कित्ताकाट नहुने गरी किनबेच सम्म फुकुवा गर्दा जग्गा एकीकरण कार्यमा प्रतिकुल असर नपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनका आधारमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्वाधार विकास समितिको बैठकबाट रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो।
सोही निर्णय सिफारिसका आधारमा राप्ती गाउँपालिकाको सबै वडा, गढ़वा गाउँपालिकाको वडा नं. १, २, ३ र अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ मा जग्गा कित्ताकाट नहुने गरी प्रदेश राजधानी क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरिएको हो।



कागजपत्र |
