

झाँक्रीको समर्थन र विरोधमा बाँडिए एनआरएन प्रतिनिधि

काठमाडौं – पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको अभिव्यक्तिका कारण एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।
एनआरएनका बहालवाला अध्यक्ष कुल आचार्य भने झाँक्रीको अभिव्यक्तिलाई सामान्य विषय भन्दै ठूलो इस्यू नबनाउन आग्रह गरेका छन् ।
केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् ।
त्यसो त झाँक्री उत्तेजित हुनुमा एक एनआरएन प्रतिनिधिले कुल आचार्यविरुद्ध गरेको कठोर टिप्पणी पनि एक कारण थियो । बेलायतबाट आएका ती प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी भएको भन्दै आचार्यलाई ‘फाँसी हुनसक्ने’ चेतावनी दिएका थिए । यस्तो अराजक अभिव्यक्तिबाट झाँक्री क्रोधित बनेकी थिइन् ।
यस विषयमा आज ती महाधिवेशन प्रतिनिधिले आचार्यलाई भेटेर माफी मागेका छन् । बोल्दाबोल्दै मुखबाट निस्किहाल्यो भन्दै उनले क्षमायाचना गरेको आचार्यले बताए ।

