

परराष्ट्रमन्त्रीद्वारा इजरायली समकक्षीसँग टेलिफोन वार्ता

काठमाडाैं – परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार आफ्ना समकक्षीसँग टेलिफोन संवाद गर्दै साउदले हालको कठिन समयमा नेपाल इजरायलको साथमा रहेको जनाएका छन् ।
सो क्रममा उनले निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा इजरायली समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा इजरायली परराष्ट्रमन्त्रीले यस विषयमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिई बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ ।
यस्तै इजरायलको उत्तरी सिमानामा अवस्थित किनरनेट कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सम्पर्कविहीन अवस्थामा रहेका विपिन जोशीको खोजी कार्य तीव्र रूपमा भइरहेको पनि बताइएको छ ।
मन्त्रालयले हालसम्म उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिने मध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले मात्रै स्थानान्तरण हुन चाहेको बताएको मन्त्रालयले जनाएको छ ।
शनिवारको आक्रमणमा निधन भएका १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधि विज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्य प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैबीच इजरायल घटना सम्बन्धमा परराष्ट्र मन्त्रालयले बुधबारदेखि नियमित रूपमा अपराह्न साढे बजे प्रेस ब्रिफिङ गर्ने भएको छ ।

