प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख भेट आपत्तिजनकः नेता रावल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखसँग भेट्नु कुटनीतिक मर्यादा विपरित भएको बताइएको छ । नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्रीले रअ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानिमन्त्री ओली र रअ प्रमुख गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै रावलले ट्विटमार्फत प्रधानमन्त्रीको यस कार्यको विरोध गरेका हुन् ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘कुटनीतिक मर्यादा विपरीत छ ।’

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग भेटघाट नभएको बताइसकेका छन् ।

प्रतिक्रिया