गैह्रीगाउँ हत्या प्रकरणः थप तीनजना प्रहरीको नियन्त्रणमा
काठमाडौं – काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
तीनकुनेस्थित दिव्य सः फर्निचर मिलमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी मिलका सुरक्षा गार्ड कुमार भुजेलसहित उनकी श्रीमती र आमाको हत्या भएको हो ।
यस्तै मोरङका १९ वर्षका नवीन राईको पनि हत्या भएको छ । सोही हत्याको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको हो ।
यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। घटनाबारे जानकारी दिन राई आफै प्रहरीकोमा उपस्थित भएका थिए ।
हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्। यस्तै मोरङका १९ वर्षका नवीन राई छन् ।
घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।