बंगलादेशले भारतलाई दियो २६६ रनको लक्ष्य
काठमाडौं – बंगलादेशले भारतलाई २६६ रनको लक्ष्य दिएको छ । एशिया कपको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई २६६ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २६५ रन बनाएको हो ।
बंगलादेशका लागि कप्तान शकिब अल हसनले सर्बाधिक ८० रन बनाएका थिए । त्यस्तै टोवहिद हृदोयले ५४ रन, नासुम अहमदले ४४, मेहदी हसनले अविजित २५ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर श्रदुल ठाकुरले सर्बाधिक ३ विकेट लिए भने मोहमद शामीले २ तथा प्रसिद कृष्ण, रविन्द्र जडेजा र अक्सर पटेलले एक एक विकेट लिएका थिए । यस खेलमा एक विकेट लिएका रविन्द्र जडेजाले एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पुरा गरेका छन् ।
भारतले यस खेलमा आफ्ना प्रमुख खेलाडी विराट कोहली, हार्दिक पाण्डेय, जसप्रित बुमराहलगायतलाई आराम दिएको छ ।
प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । भारत यसअघि नै फाइनलमा पुगिसकेको छ र फाइनलमा आइतबार श्रीलंकाको सामना गर्दै छ भने बंगलादेशले यसअघि दुई खेलमा हार बेहोरेर एशिया कपबाट बाहिरिइसकेको छ ।