

आरन पेसाबाट मनग्य आम्दानी

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका-४ धावाका मिठु विश्वकर्माले आरन पेसा सुरु गरेको ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गरेको विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।
हरेक बिहान ग्राहकको माग अनुसारका कृषि सामग्री निर्माण गर्नु उनको दिनचर्या बनेको छ । कुटो, कोदालो, हसिँया, खुर्पा मात्र नभएर ग्रामिण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरु विश्वकर्मा आफैँले तयार पर्छन् । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक तथा स्थानीयवासी उनको आरनमा पुग्छन् ।
‘आरन चलाएर दुई छोरा र एक छोरीलाई पढाइ उतारेँ’, विश्वकर्माले भने, ‘यहीँ पेसाबाट जीविकोपार्जन भइरहेको छ, पेसाबाट सन्तुष्ट नै छु ।’ श्रीमती र छोराछोरीसहित परिवारका पाँचै सदस्यको पालनपोषण र शिक्षादीक्षा आरन व्यवसायले नै धानेको उनले बताए । ‘मासिक कति आम्दानी हुन्छ भन्ने यकिन हुँदैन तर यहीँ पेसाबाट घरगृहस्थी चलेको छ’, उनले भने ।
पछिल्लो समय प्रविधि भित्रिँदै गएकाले आरन व्यवसाय गर्न पनि सजिलो भएको विश्वकर्माले बताए । ‘आरनमा आगो फुक्नका लागि वडा कार्यालयले अनुदानमा उपकरण दिएकाले पहिलेभन्दा हिजोआज काम गर्न धेरै सजिलो भएको छ’, उनले बताए , ‘आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।’
विश्वकर्माका अनुसार पुरानो आरनलाई सुधारिएको आरनका रुपमा विकसित गरेर लैजानका लागि स्थानीय सरकारले पुराना आरन व्यवसायीलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिकामार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेसिन, वेल्डिङ्ग मेसिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि सजिलो भएको उनको भनाइ थियो ।
‘वडा कार्यालयले नयाँ प्रविधि तथा उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङ्गा ल्याएर रसायन लगाउनु पर्दथ्यो’, विश्वकर्माले भने, ‘वडाले सहयोगपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।’
गाउँपालिकाले पालिकाभित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरुप आर्थिक सहयोग प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
‘स्थानीय स्तरमा आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई पालिकाले आवश्यक सहयोग गर्दै आएको छ’, उनले भने, ‘यस व्यवसायलाई घरेलु उद्योगसँगै आर्थिक आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।’

