प्रहरीमाथि अज्ञात समूहको आक्रमण, पेस्तोल र गोली लुटियो


विराटनगर – सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ । चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार राति आक्रमण भएको हो ।

बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरी आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले पाएको थियो ।

प्रहरीका अनुसार सो स्थानमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको छ । त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो ।

परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ ।

पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई पक्राउ गरेको छ ।

 

प्रतिक्रिया