
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
काठमाडौं – कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति डा। आरजु राणा बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न त्यसतर्फ जाने भएकी छन्।
सिंहदरबारमा आज बसेको सतितिको बैठकले नेतृ आरजुको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने निर्णय गरेको हो। बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको हो। बैठकपछि बोल्दै उपसचिव बरालले समितिले केरा खेतीको उत्पादन तथा सम्वद्र्धन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
समितिले बाँदर, बँदेल र निल गाई जस्ता जंगली जनावरले कृषि बालीमा क्षति पुर्याउने र किसानहरुलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी गर्न र यसको दीर्घकालीन रुपमा समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै नेपाल सरकारको कोदो खेतीको उत्पादन तथा प्रवद्र्धन गर्ने सन्दर्भमा के कस्ता कार्यक्रमहरु रहेका छन् सो सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ।



कागजपत्र |
