भारतका प्रधानमन्त्री मोदी आज जकार्ता जाँदै


नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जकार्तामा २०औँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन आज अपराह्न नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एसियन न्युज इन्टरनेशनलले जनाएको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा प्रधानमन्त्री मोदी जकार्ता जान लागेका हुन् । बीसौँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एशिया शिखर सम्मेलन भोलि बिहीबार हुनेछन् ।

आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले यस वर्ष भारतको अध्यक्षतामा आगमी शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीमा हुने युरोपेली सङ्घसहित १९ विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको अन्तरसरकारी सङ्गठन जी २० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीको इन्डोनेसिया भ्रमण हुन लागेको हो ।

इन्डोनेसिया जी २० को एक हिस्सा हो किनभने गत वर्ष उक्त देश जी २० को अध्यक्ष थियो । बिहीबार हुने आसियान–भारत शिखर सम्मेलनमा भारत र दक्षिण पूर्वएशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीमा रुपान्तरण गर्ने प्रयास हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपतिले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरेका थिए । आसियान अध्यक्ष उहाँले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गर्नुभएको थियो ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको थियो । सम्मेलनका क्रममा आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए । साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया