

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायामा

जकार्ता – शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलन छायामा परेको छ ।इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायामा परेको हो ।
अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् ।
दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुनुभएको छभने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै हुनुहुन्छ ।
“हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ, हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ।।। सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,” चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भन्नुभयो ।

