प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण, भन्छन् शिरमा देश र मनमा मधेश राखेर काम गर्छु


धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले पदभार ग्रहण का छन् । आइतबार प्रदेश प्रमुख झाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्र्दै प्रमुख झाले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिका लागि कार्य थालनी गर्ने बताएका छन् ।

उनले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’

उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

आइतबार अपराह्न जनकपुरधाम पुगेका प्रदेश प्रमुख झालाई प्रदेश नम्बर २ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहले औपचारिक स्वागत गरेका थिए भने नेकपा ओली समूहका कार्यकर्ताले १०१ किलोको फूलको माला लगाएर स्वागत गरेका थिए ।

प्रदेश प्रमुख झा विमानस्थलबाट सोझै जानकी मन्दिरमा पूजापाठ तथा दर्शनका लागि गएका थिए । त्यसलगत्तै उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं। २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी संविधानको धारा १६३ को उपधारा (२)बमोजिम राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया