भारतविरुद्ध नेपालको ‘बहादुरपूर्ण’ प्रदर्शन

नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दा बलिङ चलेन, भारत सुपर-४ मा नेपाल बाहिरियो


काठमाडौं – नेपाली ब्याट्सम्यानहरुको बहादुरीपूर्ण ब्याटिङका साथ भारतविरुद्ध नेपालले उत्कृष्ट क्रिकेट खेलेको छ । पहिलोपटक एसिया कपमा सहभागी भएको नेपालले विश्वकै क्रिकेट महारथी मानिएको भारतसँगको पहिलो खेलमा उत्कृष्ट क्रिकेट खेल्दै पहिलो एसिया कपको सहभागिता सार्थक तुल्याएको छ ।

नेपालले ४८.२ ओभरमा २३० रन बनाउँदा आफ्ना  सबै विकेट गुमाएपछि भारतलाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ सुरु गरेको भारतले २.१ ओभर खेल्दा वर्षाका कारण खेल रोकिएको थियो । लामो समयसम्म पानी परेपछि अम्पायरले खेल २३ ओभरमा छोट्याउँदै खेल सुरु गरेपछि भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले २०.१ ओभरमा बिना कुनै विकेट पूरा गर्दै एसिया कपको सुपर–४ मा प्रवेश गर्यो भने नेपाल प्रतियोगिताबाट बाहिरियो ।

वर्षाले खेल रोकिनु अघिदेखि नै उत्कृष्ट क्रिकेट सुरु गरेका भारतीय ओपनरद्वय कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई जित दिलाए । भारतका दुवै ओपनरले अर्धशतक बनाएका थिए । भारतीय रोहितले ७४ रन बनाए भने गिलले ६७ रन बनाए ।

नेपालका सन्दीप लामिछाने महंगो सावित भए । उनको पहिलो ४ ओभरमा ३९ रन दिएका थिए । त्यस्तै करण केसीले ४ ओभरमा २६ रन दिएका थिए । ललितनारायण राजवंशीले ४ ओभरमा २४ रन दिएका थिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले २, कुशल मल्लले ३ ओभर र दीपेन्द्र सिंह ऐरीले २ ओभर गुल्सन झाले १ ओभर बलिङ गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषले उत्कृष्ट सुरुवात दिलाउँदै भारतविरुद्ध उत्कृष्ट सुरुवात गरेका थिए । कुशल भुर्तेलले २ छक्का र ४ चौकासहित २५ बलमा विस्फोटक ३८ रन बनाएका थिए भने आशिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रनको अर्धसतकीय पारी खेले ।

यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए । तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन । यससँगै कुशल एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गर्ने अर्का नेपाली खेलाडी समेत बनेका छन् ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डो¥याएका थिए । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए । उनी अर्धशतकबाट २ रनले चुके । सोमपाल र सन्दीपबीच ३४ रनको साझेदारी भएको थियो । सोमपाल आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै २३१ रनमा समेटिएको हो ।

त्यस्तै गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे । नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन । आरिफ शेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रन बनाए भने सन्दीप लामिछानेले नौ रन बनाए । कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

नेपालले ब्याटिङ गरिरहँदा पटकपटक वर्षाका कारण खेल स्थगित भए पनि नेपालको ब्याटिङ सम्भव भएको थियो ।

त्यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध हुँदा अंक बाँड्दै पाकिस्तान ३ अंकसहित सुपर–४ मा पुगिसकेको छ ।

प्रतिक्रिया