ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा


ताप्लेजुङ – ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको १० औँ मिनेटमा रेडहर्षका युवराज राईले एक पहिलो गोल गरे भने ५८ औँ मिनेटमा आशिष राईले दोस्रो गोल गरे ।यसअघि हिजो भएको खेलमा घरेलु टिम मानाभरा युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैबीच भोलि दिउँसो १ बजेपछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ क्लबसहित आठ टिम सहभागी छन् । विसं.२०२९ देखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारीलगायतका कारण रोकिएको थियो ।

यही भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया