

एशिया कपः चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच कस्ले मार्ला बाजी ?

काठमाडाैं – एसिया कपको सबैभन्दा प्रतिक्षित खेल भोलि हुँदैछ । विश्व क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । श्रीलंकाको पालेकेले रंगशालामा हुन गइरहेको खेलमा नेपाललाई पहिलो खेलमा ठूलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ मैदानमा उत्रन लागेको आयोजक राष्ट्र पाकिस्तानको दोस्रो खेल हो भने भारतको जारी एसिया कपमा पहिलो खेल हो ।
जारी एसिया कपमा पाकिस्तानले एक खेल खेलिसकेको छ भने भारत पहिलो खेल खेल्दैछ । उद्घाटन खेलमा नवप्रवेशी टिम नेपाललाई फराकिलो अन्तरले पराजित गर्न सफल पाकिस्तान उच्च मनोबलका साथ श्रीलंका आइसकेको छ । खेलमा मात्र नभई राजनीतिक रुपमा पनि चीन प्रतिद्वन्द्वी देखिएका यी दुई मुलुक भारत र पाकिस्तानबीचको खेल क्रिकेट इतिहासमा जुनसुकै बेला पनि सर्वाधिक प्रतिक्षित र विश्व क्रिकेटकै ध्यान खिच्न सक्ने खेल बन्ने गर्दछन् । नेपालसँगको ठूलो अन्तरले विजयी भएको पाकिस्तान भारतसँग पराजित भएको खण्डमा पनि दोस्रो चरण जाने सम्भावना भने कायम नै रहन्छ ।
क्रिकेट इतिहासमा पाकिस्तानसँगको खेलमा प्रायः हाबी हुँदै आएको भारतलाई पहिलो खेल भएको हुनाले जसरी पनि जित्ने मानसिकताका साथ मैदानमा उत्रन्छ । भारतले पाकिस्तानसँगको खेलमा हार ब्यहोरे पनि सोमबार हुने नेपालसँगको खेलपछि दोस्रो चरणमा प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।
पाकिस्तान आईसिसी बरियतामा विश्व नम्बर १ टिम रहेको छ । भारत र पकिस्तानबीच चारवर्षपछि एकदिवसीय खेल हुन लागेको हो । यी दुईबीच सन् २०१९ को विश्वकपमा भिडेका थिए, त्यसमा भारतले बाजी मारेको थियो ।
जारी एसिया कपका लागि भारतीय ५ खेलाडी टिममा फर्किएका छन् । चोटग्रस्त केएल राउल, जसप्रित बुमराहा, श्रेयस एैयर, मोहम्मद सामी र प्रसिद्ध कृष्णले टिममा पुनरागमन गरेक छन् । अन्तिम समयमा टिममा परेकाले भारतीय मिडलअर्डर त्यति सेटल भने देखिएको छैन । भारतीय टिम केही साताअघि पूर्वविश्व च्याम्पियन तर आगामी विश्वकपमा छनोट हुन असफल वेस्ट इन्डिजसँग ३÷२ ले सिरिज गुमाएको थियो ।
भारतीय मिडल अर्डरमा केयल राहुल अनफिट भएकाले भारतलाई घाटा लागेको छ । एकदिवसिय प्रतियोगितामा राम्रो प्रर्दशन गरिरहेका राहुलको स्थानमा श्रेयस ऐयर आए पनि उनी पनि पूर्ण फिट भने देखिँदैनन् । टि–२० क्रिकेटका विस्फोटक ब्याट्सम्यान मानिएका सूर्यकुमार यादवको प्रदर्शन टी–२० मा जस्तो एकदिवसियमा छैन । त्यसैले पनि भारतिय ब्याटिङ लाइन टप अर्डरमै भर पर्नुपर्ने देखिएको छ । त्यस्तै शुभमन गिल पनि पछिल्लो समयमा लयमा नदेखिनु र कप्तान रोहित शर्माको ब्याटबाट रन ननिस्कनु भारतका लागि भारी पर्ने देखिन्छ ।
सरसर्ती हेर्दा भारतीय ब्याटिङ अर्डर राम्रो देखिए पनी तर अहिलेको पछिल्ला केही खेलहरुको तथ्यांकलाई विश्लेषण गर्दा भारतीय ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक भने देखिएको छैन । कुनै बेला विश्व क्रिकेटमा तीब्रगतिका बलरहरुले राम्रो प्रभाव देखाउने भारतीय टिममा पछिल्लो समयमा भने लयमा देखिएका छैनन् । चोटग्रस्त जसप्रिय बुमराह टिममा फर्कनु भारतका लागि खुशीको कुरा भए पनि उनलाई साथ दिने मोहम्मद सिराज, प्रसिद्ध कृष्णको प्रदर्शन पछिल्लो समय खासै जम्न सकेको छैन । भारतका लागि बलियो पक्ष भनेको अलराउण्डरमा रहेको छ । विश्वकै उत्कृष्ट अलराउन्डर मानिएका रविन्द्र जडेजा र हार्दिक पाण्ड्या भारतका लागि बलियो हतियार हुँदा कुलदिप यादव र अक्षर पटेलले स्पिनरको जिम्मेवारी सम्हाल्ने देखिन्छ ।
विश्व क्रिकेटकै शीर्ष स्थानमा रहेको पाकिस्तान र एकदिवसीय क्रिकेटका नम्बर १ ब्याट्सम्यान बाबर आजमको टिम भने तुलनात्मक रुपमा बलियो देखिएको छ । पाकिस्तानसँग तिब्रगतिका वलरको लाइनअप राम्रो देखिन्छ । नसिम सा, हेरिश राव र साइन अफ्रिदी भारतका ओपनर कप्तान रोहित शर्मा र शुभमन गिलमाथि भारी पर्ने देखिन्छ । पाकिस्तानी टप अर्डरमा फकर जमान, इमामुल हक र बावर आजम रहेका छन् । मिडल अर्डरमा मोहमद रिजवान, इप्mितकार अहमद, अघा सलमान र सदाव खान,र नमाज स्पिन अलराउन्डरका रुपमा हुनेछन् । साहिन र नसिमले अन्तिममा टिमको रनस्कोर बढाउन मद्धत गर्नसक्नेछन् ।
सरसर्ती हेर्दा पाकिस्तानको टिम केहि मजबुत देखिए पनि अहिलेसम्मको क्रिकेट इतिहासमा पाकिस्तानमाथि जहिले पनि भारत हाबी हुँदै आएको छ । पाकिस्तान र भारतबीचको खेल ११/११ जना खेलाडीको मात्र नभई राजनीतिक रुपमा पनि अर्थपूर्ण रहने गर्दछ ।
पाकिस्तान र भारतले खेलेका पछिल्ला १० एकदिवसिय खेलमा भारतले ७ पटक र पाकिस्तानले जम्मा ३ जित हात पारेका छन् । पाकिस्तानले पछिल्लो पटक २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई हराएको थियो । पछिल्लो समय पाकिस्तानले अफगानिस्तानसँगको क्लिनस्वीप र त्यसअघिका सिरिजहरुमा पनि उत्कृष्ट लयमा देखिएको हुनाले यसपटक सञ्चारमाध्यममा भन्दा भारत बलियो भए पनि मैदानमा भने पाकिस्तानले ‘चक्मा’ नदेला भन्न सकिँदैन ।
सञ्चारमाध्यमहरुले यसपटकको एसियाकपमा भारत र पाकिस्तानबीच ३ खेल हुने अड्कल काटिरहेका छन् । समूह चरणमा, टप–४ र फाइनलमा यी दुई टिम पुग्ने सञ्चारमाध्यमको पूर्वानुमानमा के–के हुने हो त्यो भने हेर्न बाँकी नै छ । १५ पटकको एसियाकपको इतिहासमा अहिलेसम्म भारत पाकिस्तान फाइनलमा भने भिडेका छैनन् । अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक एसियाकप जितेको छ भने श्रीलंकाले ६ पटक र पाकिस्तानले २ पटक जितेको छ ।
पाकिस्तानमा आयोजना गर्ने भनिएको एसियाकपमा भारत सहभागी नहुने जनाएपछि अन्तिम समयमा आएर भारतका खेललगायत कतिपय खेलहरु श्रीलंकामा खेलिन लागेको हो । जारी एसियाकपका जम्मा १३ खेलमध्ये ९ खेल श्रीलंकामा हुनेछ भने समूहचरणका चार खेल भने पाकिस्तानमा हुनेछ ।
भोली हुने खेल बर्षाको कारण प्रभावित हुने सम्भावना प्रवल रहेको छ । श्रीलंकाको आकाशमा दिनभरी पानी पर्ने मौसम विभागले जानकारी दिएको छ । शनिबार श्रीलंकामा ७० प्रतिशत पानी पर्न सक्ने बताईएको छ ।

