

बालुवाटार जग्गा प्रकरण : १७ आराेपीको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं – बालुवाटारस्थित ‘ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोमा हिरासतमा रहेका प्रतिवादीहरुसँगको बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको उक्त प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका १८ जना मध्य १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ ।
घिमिरेको बयान आज लगभग सकिने जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो ।
आज प्रतिवादीहरुसँगको वयान सकिएपछि आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुनेछ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

