


६० किलो सुन प्रकरण : फरार किशोर बस्नेत भारतबाट पक्राउ, पक्राउ पर्नेको संख्या २५ पुग्याे

काठमाडौं – त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बाहिरिएको अवस्थामा बरामत गरेको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणका आरोपी किशोर बस्नेत पक्राउ परेका छन्।
राजश्व अनुसन्धान विभागले साउन ३ गते बरामत गरेको उक्त सुन प्रकरणमा अरु पक्राउ परेपछि फरार रहेका बस्नेतलाई सीआईबीले भारतबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजिको सूचिमा थिए। तर उनी भागेर भारत पुगेका थिए। बस्नेतलाई बुधबार पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो। पौडेल भने काठमाडौंबाटै पक्राउ परेका हुन् । हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। थप अनुसन्धानका लागि मंगलबार मात्रै सीआईबीका एसएसपी हङकङ पुगेका छन्।

