प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम


काठमाडाैं – सरकारले प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ‘उमेर, नाम र जात सच्याउने नियम २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा थिए।

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पूरानो नागरिकताबाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्ने गृह मन्त्रालयले जनाएको छ । ‘कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ,’ संशोधित नियममा भनिएको छ ।

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्नेछन् । त्यसैगरी नागरिकता सच्चाएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छ्न् ।

प्रतिक्रिया