

दर्जन उत्तर लिएर संसद पुगेका प्रधानमन्त्रीलाई सोधिएका ११ प्रश्न (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) प्रतिनिधिसभा संसदमा दर्जन सांसदहरुले गरेका प्रश्नहरुको उत्तर दिने तालिका रहेकामा एक जना सांसदले प्रश्ननै फिर्ता लिए पछि ११ जना सांसदले सोधेको प्रश्नको जवाफ दिएका थिए ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्नेमा उदयशमशेर राणा, ईश्वरीदेवी न्यौपाने, ऐनबहादुर शाही, ऋषिकेश पोखरेल, आशा विक, उर्मिला माझी, एकनाथ ढकाल, उर्मिला थेवे, आश्मा चौधरी, ईश्वरी घर्ती र अमिस शाहले प्रश्न सोधेका थिए । ती बाहेक निर्धारित ८ नम्बर क्रममा राखिएका सांसदले प्रश्न फिर्ता लिएकाले प्रधानमन्त्रीले ११ सांसदले सोधेका उत्तरको जवाफ दिएका थिए ।
लिखित रुपमा प्रश्न बुझाउनुपर्ने र लिखित रुपमै तयार गरिएको जवाफ दिने परिपाटी गरिएकोमा १२ प्रश्नको जवाफ लिएर संसद पुगेर ११ प्रश्नको उत्तर दिएका थिए ।
प्रधानमन्त्रीलाई निम्न ११ सांसदहरुले निम्न प्रश्न गरेका थिए –
प्रश्न नं. १
प्रश्नकर्ताः मा. उदयशमसेर राणा
प्रश्नको व्यहोरा
- उपत्यकाभित्र बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न रिङ्गरोड बाहिरका नगरहरू र गाउँहरूसम्म जोडिने सडक विस्तार गर्न नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाएता पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकसमा समस्या परेको छ। साथै उपत्यकाको ३५ प्रतिशत भू–भाग ओगटेको ललिपुर क्षेत्र नं. १ लाई जोड्ने ३ वटै सडकलाई मुआब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विभेद गरिएको छ। विभेद गरिएका वैकल्पिक सडक र नयाँ बस्ती विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ ?
- यतिबेला आर्थिक सूचकांकहरू (Indicators) सकारात्मक छन्। भुक्तानी सन्तुलन पनि राम्रो छ।तर अर्थतन्त्र अवरुद्ध अवस्थामा छ।
- वैदेशिक लगानी र सहयोग बढ्न सकेको छैन। यस्तो अवस्थामा आन्तरिक लगानी बढाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन। एकातिर बैंक वित्तीय संस्थामा पैसा थुप्रिएको छ, तर साना तथा मझौला उद्योगहरू ऋण नपाएको गुनासो गरिरहेका छन्। अर्थ व्यवस्थाको यो असन्तुनललाई सम्बोधन गर्न सरकारको तयारी के छ ?
- साथै¸ प्रधानमन्त्रीको आउँदो चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?
प्रश्न नं. २
प्रश्नकर्ता मा. ईश्वरीदेवी न्यौपाने
- 1. लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको < यदि विधि र पद्धतिको हुन्छ भने राज्यका निकायहरूमा व्यक्ति परिवर्तनले खासै ठूलो अर्थ नराख्नु पर्ने हो। तर हाम्रोमा मन्त्री या कर्मचारी परिवर्तन गरेर मात्रै सुशासन सम्भव छ भन्ने जस्तो भाष्य निर्माणको कोसिस किन हुँदैछ ?
- हाम्रो जस्तो सुन्दर, शान्त देश नेपालमा १३१ भाषाभाषी, १४२ जातजाति बसोबास गर्छन्।यो विविधता हाम्रो पूँजी हो र यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य र दायित्व हो। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली…….” बोलको हाम्रो राष्ट्रिय गानको भाव र मर्मप्रति मेरो अटल विश्वास छ। वर्गीय राजनीतिको सैद्धान्तिक वकालत गर्ने पार्टी नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं सहभागी भएर बनाएको संविधानको रक्षासँगै यसको कार्यान्वयन तथा पालना गर्ने प्रतिबद्धतासहितको शपथ लिएर अहिले देशको कार्यकारी प्रमुखमा हुनुहुन्छ। तर हालै प्रधानमन्त्रीज्यूले ‘यदि हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउँनेछौं भनी दिएको सार्वजनिक अभिव्यक्ति यो संविधानको भावना अनुकूल छ ।जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्ने भन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन ? यसबारे स्पष्ट पारिदिनु हुन्छ कि ?
- सुदूरपश्चिम सरकारले आफ्नै भवनबाट कार्यसञ्चालन गर्न कहिले देखि पाउँछ ?
प्रश्न नं ३
प्रश्नकर्ता मा. ऐनबहादुर शाही
प्रश्नको व्यहोरा
- सम्माननीय प्राधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू खोल्ने एजेन्डामा मुगुको नाक्चेलाग्ना छ कि छैन ? छैन, भने एजेन्डामा समावेश गरियोस् यो नाका खुलेमा मुगु लगायत समग्र कर्णाली प्रदेशमा नै आर्थिक रुपमा समृद्धि ल्याउने छ।
- आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र कर्णाली प्रदेशका रारा लगायताका पर्यटकीय स्थानहरूमा पर्यटन पूर्वाधार लगायत विभिन्न समस्या हुँदा पर्यटकहरूको आवागमनमा कमी भएको छ यसमा सरकारको योजना के छ ?
- कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगदी कालोपत्र र गमगदी नाक्चेलग्ना सडक निर्माणलाई सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? र कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ?
प्रश्न नं ४
प्रश्नकर्ता मा. ऋषिकेश पोखरेल
प्रश्नको व्यहोरा
- राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये (क) २ वटा पूरा भएको देखिन्छ। माथिल्लो तामाकोशी, गौतम बुद्धभैरहवा एयरपोर्ट। (ख) ५ वटाले ७५% माथि काम भएको देखिन्छ। हुलाकी सडक, पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र विकास कार्यक्रम, पोखरा विमान स्थल र मेलम्ची खानेपानी अरु १७ वटा को अवस्था के छ ? कहिले पुरा हुन्छन् ?
- प्रविधि र ज्ञान विना दैनिक २५०० युवा विदेश जादै छन्, प्रविधि र उध्यम सिलता विकास गरी प्रौधोगिक शिक्षा दिने उद्देश्यका साथ स्थापनाको लक्ष्य लिएको मदन भण्डारी प्रधौगिक विश्वका लागि अघिल्लो सरकारले पुर्वाधार निर्माण तथा विकास समिति गठन गरेको ७ करोड बजेट छुट्टिएको राष्ट्रिय महत्वको योजना आज कहाँ छ र कहिले पुरा हुन्छ ?
प्रश्न ५
प्रश्नकर्ता मा. आशा वि.क.
प्रश्नको व्यहोरा
- सरकारले २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो। छुवाछुतलाई गैरकानुनी भनेतापनि अहिलेसम्म जघन्य जातीय विभेदका घटना भईरहेका छन्। सरकारले छुवाछुतलाई उन्मुलन गर्न कस्ता कदम चालिरहेको छ ? सरकारले दलितहरूको न्यूनतम मानवअधकार रक्षा गर्न के पहल गर्छ ? जातीय विभेदका घटना प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको अवस्था छ। सरकारले यस्ता घटना न्यूनीकरण गर्न के योजना ल्याउँछ ?
- बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ मा सरकारले २०७१ बैशाख २५ गते नौवस्ता औद्योगिक करिडोर क्षेत्र घोषणा गर्यो। बस्तीको बीचमा सरकारले औद्योगिक क्षेत्र घोषणा गर्दा त्याँ रहेका ३९० घरधुरी जनता कहिले सरकारले उठाँउछ भनेर त्रासमा बाँचिरहेका छन्। त्यहाँ रहेको ५३८ बिगाहा जमिनमध्ये १०० बिगाहा जमिन त्यहाँ रहेका स्थानीयका नाममा ल्याउनु पर्ने माग रहेको छ। २०२८ सालदेखि बसोबास गरिरहेका जनतालाई लालपुर्जा दिनुपर्ने र सोही ठाउँमा बस्ती व्यवस्थापन गर्न सरकारले के भूमिका खेल्छ ? स्थानीय सरकारले त्यस क्षेत्रमा सडक, बत्ती, बिद्यालय, मठमन्दिर लगायतका संरचनाहरू बनाएको छ। त्यो बस्तीलाई सोही ठाउँमा सरकारले कहिले व्यवस्थापन गर्छ?
- बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा २०२६ सालदेखि गिजराबस्ती बसिरहेको छ। सरकारले पटक–पटक त्यस बस्तीलाई लालपुर्जा दिने भनेर मौखिक प्रतिबद्धता जनाएपनि हालसम्म त्यहाँ रहेका जनाताले लालपुर्जा पाएका छैनन्। गिजराबस्ती सरकारको ऐलानी जग्गा र टण्डनको चिनी मिल रहेको क्षेत्रमा बसोबास गरेका छन्। सरकारले बत्ती, पानी, विद्यालय लगायतका संरचना बनाएको छ। त्यस क्षेत्रका जनतालाई लालपुर्जा कहिले वितरण हुन्छ ?
- संघीय गणतन्त्रात्मक राष्ट्र घोषणा भईसकेको अवस्थामा सुदुरपश्चिम प्रदेशको राजधानी बन्छ वा बन्दैन्? के यहि हो गणतन्त्र ? बन्ने भए कहाँ बन्छ ? प्रदेश सभाबाट घोषणा भएको गोदावरी राजधानी बन्छ कि बन्दैन्? बन्ने भए कहिले बन्छ ? किन घोषणा गरेको ? हिजो तपाईहरूको पार्टी र एमाले पार्टीको संयुक्त घोषणा गर्दै गर्दा आज किन मौन ? जनता जान्न चाहन्छन्।
प्रश्न नं ६
प्रश्नकर्ता मा.उर्मिला माझी
प्रश्नको व्यहोरा
- नेपाल कृषि प्रधान देश हो, यहाँका ६५ प्रतिशत बढी जनसंख्या कृषिमै आश्रित देखिन्छन्, तर पछिल्लो अवधिमा नेपालको उत्पादनको हिस्सा घट्दै गएको मात्र होइन, सामान्य भान्सामा प्रयोग हुने सबै चिज आयातमा भर पर्नुपर्ने बाध्यता खडा हुँदै गएको छ। कृषि क्षेत्रमा लगानी अत्याधिक हुने तर प्रतिफल अत्यन्तै न्यून हुने प्रक्रियाले गर्दा कृषिप्रति मानिसको आकर्षण र लगाव निरन्तर घट्दो छ, सरकारले उत्पादन वृद्धि गर्न र जनतालाई कृषिमै जीवन देख्ने गरी कृषि पेशालाई गर्विलो पेशा बनाउन कस्तो योजना निर्माण गर्दैछ।
प्रश्न नं ७
प्रश्नकर्ता मा. एकनाथ ढकाल
प्रश्नको व्यहोरा
1) सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै आम माफिले चोख्याउने कोसिस भयो, अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै सरकार हिड्छ। सर्वोच्च एउटा फैसला गर्छ अनि सरकार ठीक त्यस्को विपरीत ? किन ?
2) छोराका हत्यारलाई कारवाहीको माग गर्दै ३३० दिन आमरण अनसनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनशनमै २०७१ असोज ६ गते निधन भयो। न्यायका लागि जीवन आहुति दिने अधिकारीलाई शहीद घोषणा गर्नु पर्नेमा विगत ९ वर्षदेखि उनको पार्थिव शरीर अस्पतालमै सडेको छ। मृतक नन्दप्रसादकी धर्मपत्नी गङ्गामाया अधिकारी अहिलेसम्म पनि बेहाल अवस्थामा सत्य र न्यायको प्रतीक्षामा छिन्। सरकारको नीति तथा कार्यक्रमको १७६ बुँदामा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षमा सम्पन्न गरिने उल्लेख छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न यो छ कि मृतक नन्दप्रसादकी धर्मपत्नी गङ्गामाया अधिकारीको मागको सम्बोधन कहिले र कसरी गर्नु हुन्छ ? वर्षौदेखि न्यायको लागि भनेर शान्तिपूर्ण अनसन बसेको गंगामाया अधिकारीलाई भेट्नु प्रधानमन्त्रीज्यूको कर्तव्य हो कि होइन ? कहिले उहाँलाई भेट गर्न जानुहुन्छ ?
प्रश्न नं ८ सोध्ने माननीयले फिर्ता लिनुभएको ।
प्रश्न नं ९
प्रश्नकर्ता मा. आस्मा चौधरी
आँखा पाक्ने रोग वडा, पालिका, जिल्ला हुँदै देशैभरि फैलिरहेको छ। धेरै पालिकामा विद्यालयहरू बन्द गरिएका छन्। यसबाट अत्यधिक बालबालिका प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालय यसको निराकरणको लागि के गर्दैछ ?
- नेपालले आर्थिक वर्ष 2079/80 मा भारतलाई १० अर्ब ४५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ। उक्त वर्ष १९ अर्ब ४४ करोड रुपैयाँको बिजुली किनेको छ। सरकारले किन ढाँट्दै छ, दोब्बर आपूर्ति भैराछ भन्न किन डराउँछ ? त्यही बिजुली हामीले किन्दा महँगो र बेच्दा सस्तो किन?
प्रश्न नं १०
प्रश्नकर्ता मा. उर्मिला थेबे
प्रश्नको व्यहोरा
१. शिक्षाको लागत क्रमशः घटाउँदै गएर निःशुल्क पार्नु पर्नेमा, यो सरकारले त शुल्क झन् झन् बढाइरहेको देखिन्छ। शिक्षाको पहुँचबाट गरिबलाई अझ परै धकेल्ने नीति सरकारले किन लिदै छ ? संघीय शिक्षा विधेयक संसदमा कहिले दर्ता गर्नुहुन्छ ?
- प्रत्येक दिन हाजिरी गर्न क्याम्पस आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै घर लगेको, गायब गरेको साथै तोडफोड गरेको पाइएको छ। कति लाजमर्दो खबर हो ? सरकारले के गर्दै छ ?
- ताप्लेजुङमा अबिरल वर्षापछि आएको बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दाहरू अहिले पानी त्रिपाल मुनि बस्न बाध्य भएका छन् भने विद्यार्थीहरू व्यक्तिको घरमा आश्रय लिएर पढ्न बाध्य छन्। उनीहरूको उद्धार र राहतको लागि सरकारको के योजना छ ?
प्रश्न नं. ११
प्रश्नकर्ता मा. माननीय ईश्वरी घर्ती
प्रश्नको व्यहोरा
- 1. रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे सशस्त्र द्वन्द्वको शुरुवात गर्नुभएको सम्माननीय प्रधानमन्त्रीज्यू तीन पटक प्रधानमन्त्री हुँदा पनि रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरवका योजना दिन सक्नु भएन। रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधानमन्त्री भएपछि बिर्सनु भयो भन्ने रोल्पालीको गुनासो छ। त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
- जुम्लामा स्याउ पाक्ने समय आयो, केही दिनपछि यसले बजार भाउ नै नपाउने अवस्था आउन सक्छ र कतिले बजार पनि नपाउने हुन सक्छ। यसको व्यवस्थापन कसरी ? सरकारको प्लान के छ ?
- दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा शहीद भएकाहरूको सम्झना र सम्मानका लगि दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोट सम्म पुग्ने २२० कि मि सडक खण्डलाई वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा शहीद मार्ग नामकरण गरेर योजना अगाडि बढाइएको थियो। बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन। शहीद मार्गको मुख्य प्रवेशद्वारको रपमा रहेको घोराहीदेखि रोल्पा होलेरी सम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिमपूर्ण भएको लामो समय बितिसक्यो। यसबारे सदनमा मैले ३/४ पटक कुरा राखिसकेँ। तर सरकारले यो योजनालाई प्राथमिकतामा पारेन किन ?
- रोल्पाको रुम्टीगढी गाउँपालिका भित्र अहिले चारवटा चुन ढुङ्गा खानी सञ्चालनमा छन् भने थप चारवटा खानी दर्ता भएर सञ्चालनको प्रक्रियामा छन्। हाल २०० बढी टिप्पर सञ्चालनमा छन् भने पुरानो र नयाँ गरी ८ वटा चुन ढुङ्गाः खानी सञ्चालनमा आउँदा दिनमा कम्तीमा पाँचसयदेखि ७०० सम्म टिप्पर घोराही होलेरीको यही शहीद मार्ग भएर सञ्चालनमा आउने छन्। जसले गर्दा उक्त सडकमा अन्य गाडीहरू सञ्चालनमा आउन निकै बाधा पर्ने र हाल बाधा परिरहेको पनि जानकारी गराउँछु। त्यसैले सो क्षेत्रमा वैकल्पिक औद्योगिक मार्ग बनाउने र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई कालोपत्र गर्दै शहीद मार्ग योजना समयमै सम्पन्न गर्न सरकारको के योजना छ ? म सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्दछु। धन्यबाद।
प्रश्न नं. १२
प्रश्नकर्ता मा. अशिम साह
- यो सदनमा केही समय अगाडि भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर मात्र हो पुर फिल्म गज्जव आउछ भन्नु भयो तर जे आयो सारै झुर आयो टालटुले र सजिलै बझ्न सकिने खालको आयो। नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली काँग्रेसलाई साइजमा राख्नु भो, ललिता निवास मार्फत समाजवादीलाई साइजमा राख्नु भो, गौर हत्याकाण्ड मार्फत जसपालाई, अनि अव गिरी बन्धु मार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राइ गर्दै हुनुहुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?
- भारतीय नेतृत्वले अन्तरिक्षयालनाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व आफ्ना Yes म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोचमा तल्लिन हुनु अत्यन्तै दुखद छ। यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?
- छिमेकीले चन्द्रमामा यान पठाउदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ। देशभित्रका विश्वविद्यालयहरु रित्तिँदै छन्। व्यवसायीहरु निरास छन्। खेलाडीहरु पलायन हुँदैछन्। युवा पुस्तामा देश छाड्न लहर नै चलेको छ।
- प्रधानमन्त्रीज्यू चन्द्रयान अहिले माग्दिन तर यसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिवद्धताको कार्यान्वयन कहिले हुन्छ? भ्रष्टाचारमा पनि आफ्नो र अरुको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन कहिले आउँछ यो देशमा ?

