एशिया कपका लागि आज पाकिस्तान जाँदै सन्दीप


काठमाडाैं – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्ने भएका छन्। स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन्।

बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन।

आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो। पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपकोे एशियाकपमा खेल्न जाने मौका मिलेको हो।

मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएका सन्दीप नेपाली समर्थकको चाहना र आग्रह तथा टिमको आवश्यकतालाई मध्यनजर गर्दै एशियाकपमा जान लागेको बुझ्न सकिन्छ।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

सन्दीप सोमबार विहान करिब साढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपाली क्रिकेट टोली भने यसअघि नै एसिया कप खेल्न गत मंगलबार पाकिस्तान गएको थियो। त्यत्तिबेला सन्दीप मुद्दाको पेशीका कारण जान पाएका थिएनन्।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

यो खेलमा सकारात्मक नतिजा आएर सुपर फोरमा पुगेर खेल्ने मौका मिल्नेछ। यदि नेपालले सुपर फोरमा पुग्ने संभावना देखीएमा सन्दीप नेपाल आएर फेरि २१ गतेको पेशी सकेर पाकिस्तान जान सक्नेछन्।

प्रतिक्रिया