अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह


मोरङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे ।

उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई विजयी बनाउनुपर्नेमा जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पु¥याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफुले पाउनुपर्छ भन्नु हठपना मात्र भएको तर्क गरे ।

नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताए । संसद् पुनःस्थापना भए देशमा अस्थिरता उत्पन्न भइ सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ’, उनले भने, ‘त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुनःपार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचिनमा विजयी गराएर लगाएको धागो नटुटाउन अनुरोध गरे ।

 

प्रतिक्रिया