नेकपा केन्द्रीय सदस्यलाई नागरिकतासहित बोलाइयो, निर्वाचन आयोग जाने तयारी


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपां) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको छ । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो ।

राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिता विवाद टुंग्याउन निर्वाचन आयोगले ढिला गरेपछि दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरुले शुक्रबार नागरिकता बोकेर निर्वाचन आयोग जाने तयारी गरेका छन् । बहुमत सदस्य आफूहरुसँग हुँदाहुँदै पनि आयोगले निर्णय दिन आनाकानी गरेको भन्दै दाहाल नेपाल समूहका केन्द्रीय सदस्य आयोग जाने तयारी गरेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग जाने तयारी भए पनि समय एकीन नभएको बताए । केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायका अनुसार नागरिकतासहित शुक्रबार मध्यान्ह १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा जम्मा हुने सूचना आएको छ ।

आयोगलाई थप दबाब दिन प्रचण्ड र नेपालले केन्द्रीय सदस्यलाई नागरिकतासहित उपस्थित गराएर निर्वाचन आयोग घेराऊ गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् ।

पार्टी विभाजनपछि आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले आधिकारिकताको विषयमा निर्णय गरेको छैन।

यसअघि पार्टीे वैधानिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले २८७ जनाको नाम बुझाएको थियो। प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिका ४४१ सदस्यमध्ये आफ्नो पक्षमा बहुमत रहेको गर्दै आधिकारिकताका लागि निर्वाचन आयोगमा दबाब बढाइरहेको छ ।

प्रतिक्रिया